अनुसन्धानात्मक जर्नल कौमोदकीको लोकार्पण कार्यक्रम सम्पन्न

featured photo

अनुसन्धानात्मक व्यवस्थापन एकाइ (RMC) द्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल कौमोदकी अङ्क २ का प्रिन्ट र अनलाइन दुबै संस्करणको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले २०७८/१२/२९ गते मङ्गलबार एक कार्यक्रमा बीच लोकार्पण गर्नुभयो । उक्त अवसरमा उहाँले विद्यापीठको वेबसाइट प्रयोग पनि शुभारम्भ गर्नुभयो । कार्यक्रममा शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप विश्वविद्यालय जसरी अघि बढ्नु पर्ने हो त्यसरी बढ्न नसकेको बताउँदै विश्वविद्यालयमा जनशक्तिको सही वितरण र उचित ठाउँमा उचित व्यक्तिको छनोट हुन नसक्दा समस्या भएको छ, विश्वविद्यालय अध्ययन र अनुसन्धानमा केन्द्रित हुनुपर्छ र यस्ता क्रियाकलापविना गरिने भौतिक विस्तारको मात्र कुनै मूल्य हुँदैन भन्नुभयो । उहाँले विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वान्हरूले युगानुकुल रूपमा व्यवहारोपयोगी बनाउँदै लैजानुपर्ने बताउनुभयो । विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्त्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताउनुभयो । उक्त अवसरमा जर्नलमा प्रकाशित लेख रचनाको प्रा. डा. यामबहादुर पौडेल क्षेत्री, सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, सहप्रा. डा. काशीनाथ कण्डेल, उपप्रा. डा. सवीन्द्रराज भण्डारी, उपप्रा. डा. भोलानारायण रेग्मीले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा सहप्रा. डा. चूडामणि कडेलले जर्नल प्रकाशन र वेबसाइट निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने संस्कृत विश्वविद्यालय प्राध्यापक संघका उपाध्यक्ष सहप्रा. आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताउनुभयो । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा. अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा संस्थापक प्राचार्य सहप्रा. श्रीराम बराल, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति उपप्रा. भानुभक्त आचार्य, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष उपप्रा. श्यामप्रसाद पौडेल, प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष श्रीधर गौतमलगायत यस विद्यापीठमा कार्यरत प्राध्यापक, कर्मचारी एवम् अध्ययनरत विद्यार्थीहरूका साथै पोखराका विभिन्न क्याम्पसमा कार्यरत प्राध्यापक तथा अनुसन्धाताहरूको उपस्थिति रहेको थियो । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा. डा. शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेललेगर्नु भएको थियो ।