प्राध्यापकको स्वागत, सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

featured photo

विद्यापीठमा प्राध्यापक संघ एकाइ समितिको आयोजनामा यही २०७९ असोज ६ गते प्राध्यापकको स्वागत, सम्मान तथा विजयादशमी, दीपावली, छठ लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्राध्यापक संघ विद्यापीठ एकाइ समितिका सभापति सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २५ वर्षभन्दा बढी समय विश्वविद्यालय तथा विद्यापीठमा सेवा गरेका अग्रज प्राध्यापकहरू सहप्राध्यापकद्वय अम्बिकाप्रसाद भट्टराई, पूर्णचन्द्र वाग्लेलाई सम्मान गरियो ।  विद्यापीठ विकास समितिका अध्यक्ष समाजसेवी परशुराम बरालले नेपाली ढाका टोपी तथा सम्मानपत्रद्वारा सम्मान गर्दै विद्यापीठमा लामो समय सेवा गर्ने प्राध्यापकलाई सम्मान गर्ने परम्परा बसालेर प्राध्यापक संघले अनुकरणीय संस्कारको थालनी गरेको र एकाइले प्रध्यापकको हक हितका अतिरिक्त प्रध्यापनको गुणस्तर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिका उपसभापति सहप्रा. आनन्दमणि रिजालले प्राध्यापक संघले स्थापना कालदेखि नै रचनात्मक काम गर्दै आएको स्मरण गराउँदै यस किसिमका कार्यक्रमबाट प्राध्यापकहरूलाई प्रोत्साहन तथा थप क्रियाशील रहन अभिप्रेरित गर्ने बताए । विद्यापीठका प्राचार्य उपप्रा. डा. जगन्नाथ रेग्मीले विद्यापीठका गतिविधिमा प्रकाश पार्दै प्राध्यापकका ऊर्जाशील गतिविधिले नै विद्यापीठ र सिङ्गो संस्कृत वाङ्मयको संरक्षण तथा संवर्धन गर्ने, समाजोपयोगी संस्कृत वाङ्मयका निधिहरूलाई जनसमक्ष ल्याई समाजलाई लाभान्वित गराउने विश्वविद्यालयको उद्देश्य पूरा हुने धारणा राखे । विद्यापीठ विकास समितिका पूर्वअध्यक्ष विष्णु बरालले उच्चशिक्षमा सुधारको खाँचो औंल्याउँदै प्राध्यापक राजनीनिति निरपेक्ष भएर प्राध्यापन र अनुसन्धान कर्ममा लाग्नु पर्ने कुरामा जोड दिए । प्राध्यापक संघ विद्यापीठ एकाइका उपसभापति उपप्रा. प्रकाश पौडेलले स्वागत मन्तव्यका क्रममा अतिथिहरूको स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले राज्यले विश्वविद्यालयका प्राध्यापक तथा विज्ञान प्रविधि प्रतिष्ठानका अनुसन्धातालाई अन्य राष्ट्रसेवकसरह सेवा सुविधा नदिई विभेद गर्नु दुर्भाग्यपूर्ण छ भन्दै प्राध्यापक र अनुसन्धाता अन्य समस्याबाट मुक्त भएर अनुसन्धान र अध्यापनमा एकलव्य भएर लाग्नुपर्ने वर्गलाई सम्मान र उत्प्रेरणाको वातावरण निर्माण गर्नुपर्नेमा त्यस विपरीत प्राज्ञलाई मात्र बृद्धावस्थाको आर्थिक सुरक्षाको प्रभावकारी उपकरण पेन्सनबाट बञ्चित गरिनु, विश्वविद्यालय तथा क्याम्पसहरूमा अनुसन्धानका गतिविधिमा खर्च गर्ने बटेज न्यून हुनु, अनेक प्रतिकूलतासँग जुध्दै गरिएका अनुसन्धानको प्रकाशन र उपयोगको समुचित प्रबन्ध नहुनु, अन्य निकायका कर्मचारीको सरुवा हुँदा यातायात खर्च दिने राज्यले शिक्षक र प्राध्यापकहरूलाई विभिन्न सर्त राखी नदिने गरेको अवस्थामा व्यक्तिगत पुस्तकालय स्थानान्तरण जटिल बन्दा शिक्षकहरू पुस्तक सङ्ग्रह गर्न उदासिन बन्दै गएका छन् यसबाट समग्र प्राज्ञिक स्तरमा नै निरन्तर क्षयीकरण हुँदैछ भन्दै उनीहरूलाई समयानुकूल पुस्तकालय, आधुनिक प्रविधि र उपकरणको पहुँचमा पुर्याउन कुनै वास्ता नगर्नुले राज्य तथा प्राज्ञिक संस्थाका सञ्चालकले अनुसन्धानको महत्त्व बुझ्न नसकेको र राज्य तथा विश्वविद्यालयलाई घचघच्याउने जिम्मेवारी लिएका वैचारिक तथा, विश्वविद्यालयस्तरीय प्राध्यापक संघ एवम् नेपाल प्राध्यापक संघ नेतृत्वको यस्ता विषयमा ध्यान नपुग्नु उचित नभएको धारणा राखे । समारोहमा उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराई विद्यार्थी जावन श्रीश र निर्मल भट्टरार्इले आआफ्ना धारणा राख्नुभएको सोही समारोहमा नवआगन्तुक प्राध्यापकद्वय गणेश शर्मा सुवेदी र कृष्णबहादुर सुनारको स्वागत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्राध्यापक संघ संस्कृत विद्यापीठ एकाइ समितिका सचिव उपप्रा. डा. भोलानारायण रेग्मीले गरेका थिए ।